२००७ को जुन महिना भरखरै कतार आएको तीन महिना जति बितेको थियो । क्युव रमदा प्लाजामा सम्सारा नेपाली भान्साघरले आयोजना गरेको नेपाली सांगितिक कार्यक्रम हेरेर हलबाट बाहिर निस्केर गाडि पार्किङ्ग तर्फ अगाडि बढ्दै गर्दा पछाडिबाट कसैले मेरो गर्धनमा हात हालेर मज्जैले कोट्यायो । यसो पछाडि फर्केर हेरें एउटा चिने चिने जस्तो अनुहार मुसुस्क हाँसेर हात जोडेर उभिएको थियो । “दाई नमस्ते चिन्नु भयो मलाई?” उसले म तिर प्रश्न तेस्र्यायो । चिनिन भनौं भने पनि चिने झैं लाग्छ चिने भनौं भने पनि ठ्याक्कै ठम्याउन सकिन । “सायद चिन्नु भएन होला दाईले । तपाईं धेरै घर पनि त बस्नु हुन्न ।” मैले उत्तर दिन नभ्याउँदै बातावरणलाई सहज बनाउँदै उसैले उत्तर दिंदै आफ्नो संक्षिप्त परिचय दियो । ऊ पनि अरु साथीहरुसँग भएकोले मोवाइल नम्बर आदन–प्रदान गरेर फेरि भेट्ने आग्रह गर्दै बाटो लाग्यो । अलिक पर पुगेर केही विर्से झैं गरेर पुनः फर्केर आयो र भन्यो “दाई हाम्रो मोरङ्गसुनसरी प्रवासी सेवा समाज भन्ने संस्था छ हजुर पनि आउनु पर्छ है त्यसमा । तपाईसँग संघ संस्था बारे धेरै ज्ञान छ, सहयोग गर्नु पर्छ है ।” “हुन्छ” मैले यति मात्र भन्न भ्याउँदा नभ्याउँदै ऊ पुनः आफ्नो बाटो लागि सकेको थियो ।
त्यो फर्कि फर्कि आएर मोरङ्गसुनसरीको बारेमा मलाई सम्झाएर हिड्ने अनि मोसुको लागि तन मन दिने मान्छे जो पछि मोसु कतारको अध्यक्षको जिम्मेवारी सम्हालेर नेपाल फर्कियो, मेरै गाउँको भाई सरोज वाँस्तोला थियो । म आफू संघ सस्था संचालनमा सरोज भाईले भने जस्तो त्यति धेरै ज्ञानी मान्छे त हैन तथापि गैर सरकारी संघ संस्थाहरुसँगको संलग्नता भने केही लामो छ र भन्नै पर्दा तीन दशक नाघ्न लाग्यो । करिब १५ वर्षको उमेरमा मभन्दा एक वर्ष जेठो राष्ट्रिय पुस्तकालय केरावारीबाट सुरु भएको मेरो सामाजिक संस्थामा संलग्नताको यात्रा मच्छिन्द्र सामुदायिक विकास संस्था÷साउथ एसिया पार्टनरशिप, बृटेन नेपाल मडिकल ट्रष्ट, लियो क्लब ताप्लेजुङ्ग हुँदै मोरङ्गसुनसरी सेवा कतारसम्म आई पुग्दा कतै विशुद्ध स्वयंसेवक, कतै अर्ध वैतनिक र वैतनिक स्वयंसेवक अनि कतै पूर्ण कालिन जागिरेको रुपमा बित्यो । खास गरी बृटेन नेपाल मडिकल ट्रष्टमा जागिरे रहँदा समेत मच्छिन्द्र सामुदायिक विकास संस्था, लियो क्लब तथा वैकल्पिक समूह ताप्लेजुङ्गमा कतै साधरण सदस्य र स्वयंसेवी सहजकर्ताको रुपमा तथा कतै संस्थाको मूख्य नेतृत्व मै रहेर समाज सेवा र सामुदायिक विकासका कार्यहरुमा निरन्तर संलग्न भई रहने, यस क्षेत्रबाट साना ठूला कुराहरु सिक्ने वातावरण र अवसर बनी रह्यो । यसले एकातिर मेरो यस क्षेत्रको रुची पुरा गरी रह्यो भने अर्को तिर आत्मा सन्तुष्टि समेत दिई रह्यो । सायद मेरो यही संलग्नतालाई सरोज भाईले नजिक टाढाबाट निहालेको हुनु पर्छ र नै मलाई यस क्षेत्रको ज्ञानी मान्छे ठान्यो । तर अझै म भन्छु म त यस क्षेत्रको सधैं सिकारु नै हुँ । सिक्नु पर्ने कुराहरु त अझै कति बाँकी छन् कति ।
| सरोज भाई र म १९ मार्च २०१० को दिन मिटिङ पश्चात जैदा पार्कमा |
मोरङ्गसुनसरी जिल्लासँगको मेरो सहयात्रा भने कतार आए पछिको मात्रै हैन तर संस्थागत सम्बन्ध भने यहाँ आएर नै जोडिएको हो । मोरङ्ग त मेरो मूल घर नै भै हाल्यो । २०४६/०४७ (सन् १९८९/०९०) मा महेन्द्र कलेज पढ्दा ताकाको धरान वसाई र बृटेन नेपाल मेडिकल ट्रष्टमा काम गर्ने सिलसिलामा सुनसरीको सदरमुकाम ईनरुवालाई आधार बनाएर अप्रिल २००६ देखि १ वर्ष सुनसरीका सम्पूर्ण गाविस÷नगरपालिका अनि सयौं टोल वस्ती चाहारें र सुनसरीको वस्तु स्थितिलाई धेरै हदसम्म नजिकबाट बुझ्ने अवसर पाएँ ।
अब मोसु कतारसँगको सामिप्यताको कुरा तर्फ नै फर्कदा सरोजसँगको प्रसंग अटुट रुपमा जोड्नै पर्ने हुन्छ । त्यसरी रमदामा मलाई फुरुक्क पारेर हिडेको सरोज भाईले त्यतिकै छोड्नेवाला थिएन । मलाई पटक पटक फोन गरेर मोसुमा सकृय रहन आग्रह गरी नै रह्यो सरोज भाईले, मैले हुन्छ भन्न पनि छाडिन अगाडि पनि आइन । एक किसिमले उसले मलाई घसारी रह्यो तर म ढिट भएर टसको मस् गरिन । यसको कारण भनेको जागिरे जीवनमा पनि म सामाजिक संस्थासँगको संलग्नताबाट कहिल्यै पर नबसेकै कारण श्रृजित पारिवारिक दवाव र मेरो पनि केही समय पूर्ण रुपमा विशुद्ध जागिरे भएर पैसा कमाउने र तत्काललाई सकृय सामाजिक कृयाकलापहरुबाट अलिक टाढा बस्ने इच्छा नै प्रमुख थिए । परिवारको त एक किसिमको निष्कर्श नै के थियो भने समाजसेवा भनेर कुदी वस्नु नै पारिवारिक आर्थिक अवस्थालाई सुर्धान नसक्नुको एक मात्र कारण हो अनि यसै निष्कर्शका कारण अप्रत्यक्ष दवाव नै थियो यसक्षेत्रबाट टाढा बस्नलाई ।
यस बीचमा सरोज भाईले सायद थाहा दिन नभ्याई २००७ मै मलाई मोसुको सदस्य बनाई सकेको थियो होला । तर औपचारिक रुपमा म भने २००८ मा मात्र मोसुको साधरण सदस्य बन्न बाध्य जस्तै भएँ र २००९ को मोसुको पाचौं साधरण सभामा केही अरु नयाँ साथीहरु समेत लिएर साधरण सदस्यको रुपमा उपस्थित भएँ । साधरण सभामा कुनै पदिय जिम्मेवारीमा नरहेको मलाई प्रथम बैठकले कार्यकारी समितिमा वस्न दवावमूलक अनुरोध गर्यो जुन स्वीकार्न कर लाग्यो । त्यस पछि सन् २०१० मा अलखोर पार्कमा आयोजित बनभोज सहितको भव्य छैठौं साधरण सभामा पनि कार्य समितिमा नगएको म सल्लाहाकारमा मनोनित भएँ । मोसुसँगको यो मेरो अबिराम सहयात्रा त्यस पछि मोसु कतार अध्यक्ष हुँदै हाल सल्लाहाकार संयोजकमा निरन्तर छ । सरोज भाईको आग्रह अनुरोध र कोशिशबाट थालिएको मोसुसँगको यात्रा अब त एक किसिमले अभिन्न जस्तै भएको छ ।
![]() |
| १९ मार्च २०१० को दिन मिटिङको समाप्ती पश्चात जैदा पार्कमा सुस्ताउदै तत्कालिन अध्यक्ष सरोज बाँस्तोला लगायत मोसु टिम |
यसरी मोसु कतारमा सकृय हुने क्रममा धेरै मीठा र केही तिता अनुभव र अनुभूतिहरु संगाल्ने अवसरहरु मिले । यस संलग्लताले मलाई प्रवासमा सामाजिक संस्थाको आवश्यकता बारे जान्ने बुझ्ने र यसको अपरिहार्यतालाई अन्तरमनदेखि आत्मासात गर्ने अवसर प्रदान गर्यो । यहाँ कार्यरत अधिकांस नेपालीहरुको संघ संस्थाहरुप्रतिको धारणा, दृष्टिकोण र उनिहरुका अपेक्षा आदि बुझ्ने मौका मिल्यो ।
खास गरी सामाजिक संघ संस्थामा लागी पर्नेहरुप्रति यहाँ कार्यरत आम नेपालीहरुको मिश्रित दृष्टिकोण नै पाइएता पनि धेरैमा नकारात्मक सोंच नै बढी भेटेको छु मैले । “लौ अव झोला बोक्यो र हिड्यो नेतागिरी गर्न । ” यस्तो भनाई टाढा नजिकबाट बारम्बार सुन्नु परेको छ । संस्थाको अवाश्यकता र यसमा सकृयहरुको मर्म बुझ्नेभन्दा पनि सतही र हल्का टिप्पणी गरेर रमाउने हाम्रो नेपाली कुप्रवृतिले कामको व्यस्तताबाट बचेको वा बचाएको समय यस क्षेत्रमा लगाएर यहाँको नेपाली समुदाय र सानोतिनो रुममै भए पनि आफ्नो देश र समाजलाई केही योगदान गर्न लालायित मनहरुलाई यस किसिमको तितो र तिखो टिप्पणीहरुले अलिकति नै भए पनि बिचलित बनाउँने गरेको मेरो अनुभव र अनुभूति छ । यती मात्र नभएर “संस्थाको नाममा कमाई हुन्छ होला र त साँझ बिहान छुट्टी केही नभनी कुदी बस्छ त” भन्ने सम्मका आलोचानाहरु प्रत्यक्ष अप्रत्यक्ष सुनी रहेको छु । तर टिप्पणी गर्नेहरुलाई के थाहा सामाजिक काममा झोला बोक्नु र राजनीति पार्टीको झोल बोकेर हिड्नु बीचको भिन्नता अनि सामाजिक संस्थामा लागे पछि कमाई हुन्छ कि आफ्नै खल्तिबाट गुमाई हुन्छ भनेर । तर हामी जो यस क्षेत्रमा लागी परेका छौं यस्ता किसिमका कटु आलोचना बेहोरे पनि हाम्रा कदमहरु कहिल्यै पछाडि हट्नेवाला छनैन् । हुन त जेमा पनि राजनीति मात्रै गर्ने प्रवृति र संघसंस्था भन्ने बित्तिकै विदेशबाट डलरको वर्षा हुन्छ भनेर बुझेको हाम्रो र हामी पछिको पुस्ताले यस्तो टिप्पणी गर्नुमा उनिहरुभन्दा पनि यस्तो प्रवृतिलाई बढावा दिने हाम्रो समाज र त्यसका कथित अगुवाहरु नै बढी दोषी छन् । सबै संघ संस्था र सामाजिक अगुवा वा अभियन्ताहरुलाई एउटै तुलोमा राखेर जोख्नु वा एउटै चश्माले हेर्नु न्यायसंगत छैन । हामीले के विर्सनु हुदैन भने आफ्नो खल्ति हलुंगो बनाएर सधैं अरुलाई सहयोग गर्न तम्सिने र आफ्नो जिन्दगी भरको कमाई समाजको लागि समर्पण गर्नेहरु पनि हाम्रो समाजमा उल्लेखनिय संख्यामा छन् । सबैप्रति एकै खालको दृष्टिकोण राख्नु वा टिप्पणी गर्नु भनेको त्यागको समाज सेवा गर्नेहरुको घोर अपमान गर्नु हो ।
जति सुकै घोचपेच र टिप्पणी गरे पनि विडम्बना के छ भने आपत विपतको अवस्थामा भने ती घोचक पेचक महोदयहरु पनि जसलाई खेदो गर्दै घोचपेच गर्छन सहयोगको आग्रह गर्न उनीहरुकैमा पुग्छन् वा पठाइन्छन् । कोही आपत पर्न साथ आइहाल्छन भने कोही आफूले कोशिश गरेर काम नबनेर हार खाए पछि आउँछन त कोही “लौ न झोल बोकेर खुब समाजसेवी भई टोपल्थ्यो कत्तिको लछारपाटो लाउँदो रहेछ” भनेर काम बने ठिकै छ नत्र यसको पाइन जाँचौ न त भन्ने मनशाय लिएर आउँछन् । यस्तो बेलामा काम बन्यो भने त सबै खुशी भएर जान्छन र नकारात्मक टिप्पणीकर्ताहरु पनि “ए मोराहरुले गरे पो है” भनेर सकारात्मक टिप्पणी गर्दै फर्कन्छन् । काम बनेन भने नकारात्मक टिप्पणीकर्ताहरुले के भन्छन् होला भनेर भनी रहनै पर्दैन उनीहरुको टिप्पणीले अझ उच्च क्षमताको उर्जा पाउँछ तर जो ठूलो आशा, विश्वास अनि सकारात्मक सोचक साथ आएका हुन्छन उनीहरु मध्ये पनि धेरै जसो यिनिहरुले केही गर्न नसक्ने रहेछन् भनेर निराशा र अविश्वास लिएर फर्किन्छन् । थोरैले मात्र संघ संस्थाहरुको कार्यक्षेत्र, क्षमता र अधिकारको सिमितताको बारेमा बुझ्छन् अनि कोशिस र सहयोग त गरेकै हो भनेर चित्त बुझाएर फर्किन्छन् । घर फिर्ति जानलाई टिकट लिन नसकेर रोकिएकाहरुलाई संस्थाले टिकट व्यवस्था गरेको समाचार पढेर, सुनेर कतिपयहरु त सामान्य अवस्थामा कम्पनीबाट बिदा भएर जान लाग्दा पनि “लौ मलाई पनि घर जाने टिकट मिलाई दिनु पर्यो है” समेत भनेर भन्न समेत भ्याएका केही अनुभवहरु छन् मसँग । उनीहरुलाई लाग्दो हो यिनिहरुको संस्थासँग त प्रशस्त पैसा छ र यिनिहरुले गर्ने मूख्य काम भनेकै घर जानेहरुलाई टिकट व्यवस्था गर्ने हो ।
यहाँ बुझ्नु पर्ने कुरा के हो भने प्रवासमा सामाजिक संस्था कसरी जन्मेका र चलेका छन ? यिनिहरु कत्तिको अधिकार सम्पन्न, आर्थिक तथा अन्य श्रोत सम्मपन्न छन् ? यिनिहरुको आर्थिक श्रोतको मूल आधार के हो ? यिनिहरुले कुन प्रकृति र कुन हदसम्मको सहयोग गर्न सक्छन् ? आदि इत्यादि । अनि के पनि बुझ्न जरुरी छ भने यिनिहरु पनि हामी जस्तै काम गरेर परिवारको जिविका चलाउन आएकाहरु हुन र अरुहरुको दुःखमा उत्पन्न हुने करुणा र सेवाभाव कै कारण नितान्त स्वयंसेवी रुपमा संघ संस्थाहरुमा कार्यरत छन् । हामीले जति बढी सहयोग गछौं त्यति नै यी संस्थाहरुले सहयोगको दायरालाई फराकिलो बनाउन सक्छन् । संघ संस्थाहरुलाई सहयोग गर्नु भनेको स्वयंसेवा (Voluntary) र स्वयंसहयोग (Self-Help) दुबै अभियानमा लाग्नु हो ।
कसरी गर्न सकिन्छ त स्वयंसेवा (Voluntary) र स्वयंसहयोग (Self-Help) अभियानमा सरिक हुन ?
संस्थाले आफ्ना सदस्यहरु तथा अरुहरुलाई गर्ने सहयोगहरुमा समस्या परेको बखत निराकरणका लागि मार्गदर्शन गर्ने, राजदूताबास लगायत विभिन्न निकाय र संस्थाहरुमा पत्राचार, समन्वय र सम्पर्क बनाई दिने, परामर्श दिने, सचेतना दिलाउने लगायतका हुन्छन् ता पनि विभिन्न समयमा अर्थिक सहयोगको अपेक्षा र आवश्यकता बढी टड्कारो भएर आउँछ । अरु सबै पक्षहरुमा जति नै सहयोग गरेर समस्या समाधानमा सघाउ पु¥याएको भए पनि जब उनीहरुलाई आवश्यक परेको बेलामा भने जस्तो आर्थिक सहयोग उपलब्ध गराउन यी संघ संस्थाहरु सक्षम हुदैनन् त्यो बेला ती अन्य सहयोगहरु आर्थिक सहयोगभन्दा जति नै महत्वपूर्ण भएता पनि तिनिहरुलाई अर्थहिन जस्तै ठान्छन् । तर सामाजिक संस्थाहरुको आर्थिक श्रोतहरु सारै सिमित हुन्छन् । आर्थिक श्रोतको मूख्य र भरपर्दो बाटो भनेकै साधरण सदस्यता शुल्क र पदाधिकारीहरुबाट आउने मासिक/वार्षिक लेवी हो । यस बाहेक विभिन्न अवसरमा सहयोगदाताहरुबाट प्राप्त हुने चन्दा पनि एक हो तर चन्दा सहयोग अभियान खास गरी विशेष परियोजना वा उद्देश्यमा केन्द्रित भएर चलाइने भएकोले उक्त उद्देश्य मै खर्च गर्नु पर्ने बाध्यता हुन्छ र यो हरदम र स–सानो आवश्यकताहरुमा सधैं चलाई रहन सकिने अभियान पनि हैन ।
मोसुकै सन्दर्भमा कुरा गर्ने हो भने यो संस्थाले चाँही आर्थिक श्रोतको आवश्यकता परिपुर्तिको लागि एउटा नौलो तरिका अपनाएको छ, त्यो हो संस्थाको संरक्षण तथा अनुगमनमा संचालित बचत परियोजनाको खुद नाफाको निश्चित प्रतिशत रकम मातृ संस्था मोसुका सामाजिक गतिविधिहरु संचालन गर्नको लागि प्रदान गर्ने । यसले मोसुको आर्थिक समस्या समाधान गर्न धेरै हदसम्म सहज भएको छ तथापि यसबाट पनि प्रवासमा रहेका आफ्ना सदस्यहरुलाई पर्ने असिमित आर्थिक लगायतका अन्य सबै समस्याहरु समाधान गर्न विल्कुलै संभव छैन । त्यसैले कतारमा कार्यरत मोसुबासीहरुले निम्न तरिकाले मोसुका कृयाकलापहरुमा सहभागी भई संस्थाको आर्थिक समस्यालाई न्युनिकरण गर्न, अन्य मोसुबासीहरुको आपत विपतमा साथ दिन तथा संस्थाको उद्देश्य प्राप्तिमा सहयोग गर्न सक्दछन् ।
१. संस्था र संस्थाको उद्देश्य र गतिविधिहरुको प्रचार–प्रसार
आफू संलग्न संस्था र त्यसको उद्देश्य तथा गतिविधहरुको बारेमा आफू जानकार भएर आफ्नो साथी संगतीहरुसँग छलफल गर्ने तथा त्यस बारे बुझाउने गरिएमा संस्थालाई धेरै ठूलो सहयोग पुग्दछ ।
२. साधरण सदस्य बन्ने बनाउने
हुन त मोरङ्गसुनसरीले आफ्ना जिल्लाका मात्र हैन नेपाल भित्र तथा नेपाल बाहिर आई परेका समस्याहरुमा सम्पूर्ण नेपालीलाई आफ्नो क्षमताले भ्याएसम्म मानवीय र आर्थिक सहयोग गर्दै आएको छ र निरन्तर गरी नै रहने छ । तर सदस्यको हैसियतले संस्थाप्रति बढी जिम्मेवार रहनुका साथै सहयोग प्राप्त गर्ने अधिकार समेत स्वतः बढी रहन्छ । साधरण सदस्यता विस्तार भनेको सानो तिनो तर नियमित आयको बाटो मात्र नभएर संस्थाको संगठन विस्तारको माध्यम पनि हो । संस्थाको अध्यक्ष हुने मान्छे पनि सर्व प्रथम साधरण सदस्य कै रुपमा संस्था प्रवेश गरेको हुन्छ । सदस्यहरु नै संस्थाका सम्पति हुन, संस्थारुपी घरका जग, खम्बा, छत, पर्खाल सबै हुन् । तसर्थ जति बढी सदस्य त्यती नै बढी आय र त्यती नै संस्थाको संगठन पनि ठूलो र मजबुत बन्दछ ।
३. अरुको आपतमा तपाई तपाईको आपतमा अरु
संस्थाको आर्थिक श्रोतको बारेमा त माथि नै चर्चा गरी हालियो तर जुन किसिमको सहयोग आउने भए पनि सहयोगको मूख्य आधार भनेका संस्थाका सदस्यहरु नै हुन् । तसर्थ सदस्यको रुपमा तपाई हामीले बुझाउने शुल्क वा अन्य कुनै पनि आर्थिक सहयोग नै आवश्क पर्दा प्रयोग गरेर संस्थाले तपाई हामी जस्तै अर्को सदस्यलाई सहयोग गर्ने गर्दछ । जसरी तपाईबाट संकलित पैसाले अर्को सदस्यको आपतबिपतमा काम आउँछ त्यसरी नै अरु सदस्यहरुबाट संकलित रकमबाट तपाईलाई जरुरत पर्दा सहयोग गर्न प्रयोग गरिन्छ । त्यसैले संस्था भनेको पारस्परिक सहयोग आदन–प्रदान गर्ने एउटा साझा ल्पेट फर्म पनि हो ।
४. संस्थाको सम्पर्कमा रही रहने
आपतको अवस्थामा मात्र नभएर सामान्य अवस्थामा समेत संस्थाको सम्पर्कमा रही रहेमा, संस्थाका हरेक गतिविधिहरुमा नभए पनि वार्षिक साधरण सभा लगायतका मूख्य मूख्य गतिविधिहरुमा समय निकालेर सरीक भई रहेमा संस्थाक गतिविधिहरु जानकार हुन, पदाधिकारहरु तथा आपूm जस्तै अन्य सदस्यहरुसँग सम्पर्क र सम्बन्ध विकास एवं विस्तार हुन जाने हुनाले आवश्यक परेको वखत सहयोग लिनदिन सजिलो हुन्छ भने निरन्तर सम्पर्कमा रही रहने सदस्य छोटो समय सम्पर्क बाहिर भए पनि संस्थाले चासो राख्ने तथा खोजी गर्ने गर्दछ ।

| २०१० अप्रिल १६ को वृहत् अलखोर बनभोज तथा छैठौं साधारण सभा जसले सरोज बाँस्तोला अध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो |
यसरी म आफू मोसु कतारसँग आवद्ध हुने वातावरण बनाउने मोसु पूर्व अध्यक्ष सरोज बाँस्तोला भए पनि यी उपर्युक्त तथा अन्य धेरै कारण र औचित्वहरुको विश्लेषण गरेर नै मेरो यो संस्थामा सकृयता बढेको हो । हामी जति सुकै आर्थिक रुपले सम्पन्न वा उच्च सामाजिक हैसियत राख्ने भएता पनि न त हामी एक्लैले यहाँ प्रवासमा आई पर्ने समस्याहरु समाधान गर्न सक्छौं न त आफ्नो मुलुकको हितको लागि नै एक्लै केही गर्न सक्छौं । संस्थाको आवश्यकता भनेको प्रवास तथा स्वदेशमा आपसी सहयोग आदन–प्रदान गर्नका लागि तथा संस्था मार्फत आफ्नो देश र समुदायको हितको लागि आफूले सक्ने सामुहिक सहयोग तथा योगदान गर्नका लागि पर्दछ । नेपाली समाजमा चल्तिका केही भनाईहरु नै छन् “एकता नै बल” “एक थुकी सुकी सय थुकी नदी” आदि । तसर्थ प्रवासमा आई पर्ने समस्याहरु समाधानका लागि मात्र नभएर आफ्नो मुलुक कै लागि गर्न चाहेका र गर्नै पर्ने दायित्वहरु पुरा गर्न पनि व्यक्तिगतभन्दा सामुहिक र संगठित प्रयास सहज र सफल हुने हुनाले परापुर्व कालदेखि सामाजिक संस्था एउटा व्यक्तिको सामाजिक जीवनको एक अनिवार्य अंग र आधार भई आएको छ अनन्त कालसम्म भई रहने छ ।
(मोरङसुनसरी सेवा समाजको स्मारिका मोरङसुनसरी किरण बर्ष १३, अंक ४, सन् २०१३ (बि.सं २०७०) मा प्रकाशित )

