Monday, September 23, 2013

प्रवासमा सामाजिक संस्थाको औचित्व र मोरङ्गसुनसरीसँगको मेरो सहयात्रा

२००७ को जुन महिना भरखरै कतार आएको तीन महिना जति बितेको थियो । क्युव रमदा प्लाजामा सम्सारा नेपाली भान्साघरले आयोजना गरेको नेपाली सांगितिक कार्यक्रम हेरेर हलबाट बाहिर निस्केर गाडि पार्किङ्ग तर्फ अगाडि बढ्दै गर्दा पछाडिबाट कसैले मेरो गर्धनमा हात हालेर मज्जैले कोट्यायो । यसो पछाडि फर्केर हेरें एउटा चिने चिने जस्तो अनुहार मुसुस्क हाँसेर हात जोडेर उभिएको थियो । “दाई नमस्ते चिन्नु भयो मलाई?” उसले म तिर प्रश्न तेस्र्यायो । चिनिन भनौं भने पनि चिने झैं लाग्छ चिने भनौं भने पनि ठ्याक्कै ठम्याउन सकिन । “सायद चिन्नु भएन होला दाईले । तपाईं धेरै घर पनि त बस्नु हुन्न ।” मैले उत्तर दिन नभ्याउँदै बातावरणलाई सहज बनाउँदै उसैले उत्तर दिंदै आफ्नो संक्षिप्त परिचय दियो । ऊ पनि अरु साथीहरुसँग भएकोले मोवाइल नम्बर आदन–प्रदान गरेर फेरि भेट्ने आग्रह गर्दै बाटो लाग्यो । अलिक पर पुगेर केही विर्से झैं गरेर पुनः फर्केर आयो र भन्यो “दाई हाम्रो मोरङ्गसुनसरी प्रवासी सेवा समाज भन्ने संस्था छ हजुर पनि आउनु पर्छ है त्यसमा । तपाईसँग संघ संस्था बारे धेरै ज्ञान छ, सहयोग गर्नु पर्छ है ।” “हुन्छ” मैले यति मात्र भन्न भ्याउँदा नभ्याउँदै ऊ पुनः आफ्नो बाटो लागि सकेको थियो । 

त्यो फर्कि फर्कि आएर मोरङ्गसुनसरीको बारेमा मलाई सम्झाएर हिड्ने अनि मोसुको लागि तन मन दिने मान्छे जो पछि मोसु कतारको अध्यक्षको जिम्मेवारी सम्हालेर नेपाल फर्कियो, मेरै गाउँको भाई सरोज वाँस्तोला थियो । म आफू संघ सस्था संचालनमा सरोज भाईले भने जस्तो त्यति धेरै ज्ञानी मान्छे त हैन तथापि गैर सरकारी संघ संस्थाहरुसँगको संलग्नता भने केही लामो छ र भन्नै पर्दा तीन दशक नाघ्न लाग्यो । करिब १५ वर्षको उमेरमा मभन्दा एक वर्ष जेठो राष्ट्रिय पुस्तकालय केरावारीबाट सुरु भएको मेरो सामाजिक संस्थामा संलग्नताको यात्रा मच्छिन्द्र सामुदायिक विकास संस्था÷साउथ एसिया पार्टनरशिप, बृटेन नेपाल मडिकल ट्रष्ट, लियो क्लब ताप्लेजुङ्ग हुँदै मोरङ्गसुनसरी सेवा कतारसम्म आई पुग्दा कतै विशुद्ध स्वयंसेवक, कतै अर्ध वैतनिक र वैतनिक स्वयंसेवक अनि कतै पूर्ण कालिन जागिरेको रुपमा बित्यो । खास गरी बृटेन नेपाल मडिकल ट्रष्टमा जागिरे रहँदा समेत मच्छिन्द्र सामुदायिक विकास संस्था, लियो क्लब तथा वैकल्पिक समूह ताप्लेजुङ्गमा कतै साधरण सदस्य र स्वयंसेवी सहजकर्ताको रुपमा तथा कतै संस्थाको मूख्य नेतृत्व मै रहेर समाज सेवा र सामुदायिक विकासका कार्यहरुमा निरन्तर संलग्न भई रहने, यस क्षेत्रबाट साना ठूला कुराहरु सिक्ने वातावरण र अवसर बनी रह्यो । यसले एकातिर मेरो यस क्षेत्रको रुची पुरा गरी रह्यो भने अर्को तिर आत्मा सन्तुष्टि समेत दिई रह्यो । सायद मेरो यही संलग्नतालाई सरोज भाईले नजिक टाढाबाट निहालेको हुनु पर्छ र नै मलाई यस क्षेत्रको ज्ञानी मान्छे ठान्यो । तर अझै म भन्छु म त यस क्षेत्रको सधैं सिकारु नै हुँ । सिक्नु पर्ने कुराहरु त अझै कति बाँकी छन् कति ।
सरोज भाई र म १९ मार्च २०१० को दिन मिटिङ पश्चात जैदा पार्कमा

मोरङ्गसुनसरी जिल्लासँगको मेरो सहयात्रा भने कतार आए पछिको मात्रै हैन तर संस्थागत सम्बन्ध भने यहाँ आएर नै जोडिएको हो । मोरङ्ग त मेरो मूल घर नै भै हाल्यो । २०४६/०४७ (सन् १९८९/०९०) मा महेन्द्र कलेज पढ्दा ताकाको धरान वसाई र बृटेन नेपाल मेडिकल ट्रष्टमा काम गर्ने सिलसिलामा सुनसरीको सदरमुकाम ईनरुवालाई आधार बनाएर  अप्रिल २००६ देखि १ वर्ष सुनसरीका सम्पूर्ण गाविस÷नगरपालिका अनि सयौं टोल वस्ती चाहारें र सुनसरीको वस्तु स्थितिलाई धेरै हदसम्म नजिकबाट बुझ्ने अवसर पाएँ । 

अब मोसु कतारसँगको सामिप्यताको कुरा तर्फ नै फर्कदा सरोजसँगको प्रसंग अटुट रुपमा जोड्नै पर्ने हुन्छ । त्यसरी रमदामा मलाई फुरुक्क पारेर हिडेको सरोज भाईले त्यतिकै छोड्नेवाला थिएन । मलाई पटक पटक फोन गरेर मोसुमा सकृय रहन आग्रह गरी नै रह्यो सरोज भाईले, मैले हुन्छ भन्न पनि छाडिन अगाडि पनि आइन । एक किसिमले उसले मलाई घसारी रह्यो तर म ढिट भएर टसको मस् गरिन । यसको कारण भनेको जागिरे जीवनमा पनि म सामाजिक संस्थासँगको संलग्नताबाट कहिल्यै पर नबसेकै कारण श्रृजित पारिवारिक दवाव र मेरो पनि केही समय पूर्ण रुपमा विशुद्ध जागिरे भएर पैसा कमाउने र तत्काललाई सकृय सामाजिक कृयाकलापहरुबाट अलिक टाढा बस्ने इच्छा नै प्रमुख थिए । परिवारको त एक किसिमको निष्कर्श नै के थियो भने समाजसेवा भनेर कुदी वस्नु नै पारिवारिक आर्थिक अवस्थालाई सुर्धान नसक्नुको एक मात्र कारण हो अनि यसै निष्कर्शका कारण अप्रत्यक्ष दवाव नै थियो यसक्षेत्रबाट टाढा बस्नलाई  । 

यस बीचमा सरोज भाईले सायद थाहा दिन नभ्याई २००७ मै मलाई मोसुको सदस्य बनाई सकेको थियो होला । तर औपचारिक रुपमा म भने २००८ मा मात्र मोसुको साधरण सदस्य बन्न बाध्य जस्तै भएँ र २००९ को मोसुको पाचौं साधरण सभामा केही अरु नयाँ साथीहरु समेत लिएर साधरण सदस्यको रुपमा उपस्थित भएँ । साधरण सभामा कुनै पदिय जिम्मेवारीमा नरहेको मलाई प्रथम बैठकले कार्यकारी समितिमा वस्न दवावमूलक अनुरोध गर्‍यो जुन स्वीकार्न कर लाग्यो । त्यस पछि सन् २०१० मा अलखोर पार्कमा आयोजित बनभोज सहितको भव्य छैठौं साधरण सभामा पनि कार्य समितिमा नगएको म सल्लाहाकारमा मनोनित भएँ । मोसुसँगको यो मेरो अबिराम सहयात्रा त्यस पछि मोसु कतार अध्यक्ष हुँदै हाल सल्लाहाकार संयोजकमा निरन्तर छ । सरोज भाईको आग्रह अनुरोध र कोशिशबाट थालिएको मोसुसँगको यात्रा अब त एक किसिमले अभिन्न जस्तै भएको छ ।
१९ मार्च २०१० को दिन मिटिङको समाप्ती पश्चात जैदा पार्कमा सुस्ताउदै तत्कालिन अध्यक्ष सरोज बाँस्तोला लगायत मोसु टिम

यसरी मोसु कतारमा सकृय हुने क्रममा धेरै मीठा र केही तिता अनुभव र अनुभूतिहरु संगाल्ने अवसरहरु मिले । यस संलग्लताले मलाई प्रवासमा सामाजिक संस्थाको आवश्यकता बारे जान्ने बुझ्ने र यसको अपरिहार्यतालाई अन्तरमनदेखि आत्मासात गर्ने अवसर प्रदान गर्‍यो । यहाँ कार्यरत अधिकांस नेपालीहरुको संघ संस्थाहरुप्रतिको धारणा, दृष्टिकोण र उनिहरुका अपेक्षा आदि बुझ्ने मौका मिल्यो ।
खास गरी सामाजिक संघ संस्थामा लागी पर्नेहरुप्रति यहाँ कार्यरत आम नेपालीहरुको मिश्रित दृष्टिकोण नै पाइएता पनि धेरैमा नकारात्मक सोंच नै बढी भेटेको छु मैले । “लौ अव झोला बोक्यो र हिड्यो नेतागिरी गर्न । ” यस्तो भनाई टाढा नजिकबाट बारम्बार सुन्नु परेको छ । संस्थाको अवाश्यकता र यसमा सकृयहरुको मर्म बुझ्नेभन्दा पनि सतही र हल्का टिप्पणी गरेर रमाउने हाम्रो नेपाली कुप्रवृतिले कामको व्यस्तताबाट बचेको वा बचाएको समय यस क्षेत्रमा लगाएर यहाँको नेपाली समुदाय र सानोतिनो रुममै भए पनि आफ्नो देश र समाजलाई केही योगदान गर्न लालायित मनहरुलाई यस किसिमको तितो र तिखो टिप्पणीहरुले अलिकति नै भए पनि बिचलित बनाउँने गरेको मेरो अनुभव र अनुभूति छ । यती मात्र नभएर “संस्थाको नाममा कमाई हुन्छ होला र त साँझ बिहान छुट्टी केही नभनी कुदी बस्छ त” भन्ने सम्मका आलोचानाहरु प्रत्यक्ष अप्रत्यक्ष सुनी रहेको छु । तर टिप्पणी गर्नेहरुलाई के थाहा सामाजिक काममा झोला बोक्नु र राजनीति पार्टीको झोल बोकेर हिड्नु बीचको भिन्नता अनि सामाजिक संस्थामा लागे पछि कमाई हुन्छ कि आफ्नै खल्तिबाट गुमाई हुन्छ भनेर । तर हामी जो यस क्षेत्रमा लागी परेका छौं यस्ता किसिमका कटु आलोचना बेहोरे पनि हाम्रा कदमहरु कहिल्यै पछाडि हट्नेवाला छनैन् । हुन त जेमा पनि राजनीति मात्रै गर्ने प्रवृति र संघसंस्था भन्ने बित्तिकै विदेशबाट डलरको वर्षा हुन्छ भनेर बुझेको हाम्रो र हामी पछिको पुस्ताले यस्तो टिप्पणी गर्नुमा उनिहरुभन्दा पनि यस्तो प्रवृतिलाई बढावा दिने हाम्रो समाज र त्यसका कथित अगुवाहरु नै बढी दोषी छन् । सबै संघ संस्था र सामाजिक अगुवा वा अभियन्ताहरुलाई एउटै तुलोमा राखेर जोख्नु वा एउटै चश्माले हेर्नु न्यायसंगत छैन । हामीले के विर्सनु हुदैन भने आफ्नो खल्ति हलुंगो बनाएर सधैं अरुलाई सहयोग गर्न तम्सिने र आफ्नो जिन्दगी भरको कमाई समाजको लागि समर्पण गर्नेहरु पनि हाम्रो समाजमा उल्लेखनिय संख्यामा छन् । सबैप्रति एकै खालको दृष्टिकोण राख्नु वा टिप्पणी गर्नु भनेको त्यागको समाज सेवा गर्नेहरुको घोर अपमान गर्नु हो ।

जति सुकै घोचपेच र टिप्पणी गरे पनि विडम्बना के छ भने आपत विपतको अवस्थामा भने ती घोचक पेचक महोदयहरु पनि जसलाई खेदो गर्दै घोचपेच गर्छन सहयोगको आग्रह गर्न उनीहरुकैमा पुग्छन् वा पठाइन्छन् । कोही आपत पर्न साथ आइहाल्छन भने कोही आफूले कोशिश गरेर काम नबनेर हार खाए पछि आउँछन त कोही “लौ न झोल बोकेर खुब समाजसेवी भई टोपल्थ्यो कत्तिको लछारपाटो लाउँदो रहेछ” भनेर काम बने ठिकै छ नत्र यसको पाइन जाँचौ न त भन्ने मनशाय लिएर आउँछन् । यस्तो बेलामा काम बन्यो भने त सबै खुशी भएर जान्छन र नकारात्मक टिप्पणीकर्ताहरु पनि “ए मोराहरुले गरे पो है” भनेर सकारात्मक टिप्पणी गर्दै फर्कन्छन् । काम बनेन भने नकारात्मक टिप्पणीकर्ताहरुले के भन्छन् होला भनेर भनी रहनै पर्दैन उनीहरुको टिप्पणीले अझ उच्च क्षमताको उर्जा पाउँछ तर जो ठूलो आशा, विश्वास अनि सकारात्मक सोचक साथ आएका हुन्छन उनीहरु मध्ये पनि धेरै जसो यिनिहरुले केही गर्न नसक्ने रहेछन् भनेर निराशा र अविश्वास लिएर फर्किन्छन् । थोरैले मात्र संघ संस्थाहरुको कार्यक्षेत्र, क्षमता र अधिकारको सिमितताको बारेमा बुझ्छन् अनि कोशिस र सहयोग त गरेकै हो भनेर चित्त बुझाएर फर्किन्छन् । घर फिर्ति जानलाई टिकट लिन नसकेर रोकिएकाहरुलाई संस्थाले टिकट व्यवस्था गरेको समाचार पढेर, सुनेर कतिपयहरु त सामान्य अवस्थामा कम्पनीबाट बिदा भएर जान लाग्दा पनि “लौ मलाई पनि घर जाने टिकट मिलाई दिनु पर्‍यो है” समेत भनेर भन्न समेत भ्याएका केही अनुभवहरु छन् मसँग । उनीहरुलाई लाग्दो हो यिनिहरुको संस्थासँग त प्रशस्त पैसा छ र यिनिहरुले गर्ने मूख्य काम भनेकै घर जानेहरुलाई टिकट व्यवस्था गर्ने हो । 

यहाँ बुझ्नु पर्ने कुरा के हो भने प्रवासमा सामाजिक संस्था कसरी जन्मेका र चलेका छन ? यिनिहरु कत्तिको अधिकार सम्पन्न, आर्थिक तथा अन्य श्रोत सम्मपन्न छन् ? यिनिहरुको आर्थिक श्रोतको मूल आधार के हो ? यिनिहरुले कुन प्रकृति र कुन हदसम्मको सहयोग गर्न सक्छन् ? आदि इत्यादि । अनि के पनि बुझ्न जरुरी छ भने यिनिहरु पनि हामी जस्तै काम गरेर परिवारको जिविका चलाउन आएकाहरु हुन र अरुहरुको दुःखमा उत्पन्न हुने करुणा र सेवाभाव कै कारण नितान्त स्वयंसेवी रुपमा संघ संस्थाहरुमा कार्यरत छन् । हामीले जति बढी सहयोग गछौं त्यति नै यी संस्थाहरुले सहयोगको दायरालाई फराकिलो बनाउन सक्छन् । संघ संस्थाहरुलाई सहयोग गर्नु भनेको स्वयंसेवा  (Voluntary) र  स्वयंसहयोग (Self-Help)  दुबै अभियानमा लाग्नु हो ।

कसरी गर्न सकिन्छ त स्वयंसेवा (Voluntary) र  स्वयंसहयोग (Self-Help) अभियानमा सरिक हुन ?
संस्थाले आफ्ना सदस्यहरु तथा अरुहरुलाई गर्ने सहयोगहरुमा समस्या परेको बखत निराकरणका लागि मार्गदर्शन गर्ने, राजदूताबास लगायत विभिन्न निकाय र संस्थाहरुमा पत्राचार, समन्वय र सम्पर्क बनाई दिने, परामर्श दिने, सचेतना दिलाउने लगायतका हुन्छन् ता पनि विभिन्न समयमा अर्थिक सहयोगको अपेक्षा र आवश्यकता बढी टड्कारो भएर आउँछ । अरु सबै पक्षहरुमा जति नै सहयोग गरेर समस्या समाधानमा सघाउ पु¥याएको भए पनि जब उनीहरुलाई आवश्यक परेको बेलामा भने जस्तो आर्थिक सहयोग उपलब्ध गराउन यी संघ संस्थाहरु सक्षम हुदैनन् त्यो बेला ती अन्य सहयोगहरु आर्थिक सहयोगभन्दा जति नै महत्वपूर्ण भएता पनि तिनिहरुलाई अर्थहिन जस्तै ठान्छन् । तर सामाजिक संस्थाहरुको आर्थिक श्रोतहरु सारै सिमित हुन्छन् । आर्थिक श्रोतको मूख्य र भरपर्दो बाटो भनेकै साधरण सदस्यता शुल्क र पदाधिकारीहरुबाट आउने मासिक/वार्षिक लेवी हो । यस बाहेक विभिन्न अवसरमा सहयोगदाताहरुबाट प्राप्त हुने चन्दा पनि एक हो तर चन्दा सहयोग अभियान खास गरी विशेष परियोजना वा उद्देश्यमा केन्द्रित भएर चलाइने भएकोले उक्त उद्देश्य मै खर्च गर्नु पर्ने बाध्यता हुन्छ र यो हरदम र स–सानो आवश्यकताहरुमा सधैं चलाई रहन सकिने अभियान पनि हैन । 

मोसुकै सन्दर्भमा कुरा गर्ने हो भने यो संस्थाले चाँही आर्थिक श्रोतको आवश्यकता परिपुर्तिको लागि एउटा नौलो तरिका अपनाएको छ, त्यो हो संस्थाको संरक्षण तथा अनुगमनमा संचालित बचत परियोजनाको खुद नाफाको निश्चित प्रतिशत रकम मातृ संस्था मोसुका सामाजिक गतिविधिहरु संचालन गर्नको लागि प्रदान गर्ने । यसले मोसुको आर्थिक समस्या समाधान गर्न धेरै हदसम्म सहज भएको छ तथापि यसबाट पनि प्रवासमा रहेका आफ्ना सदस्यहरुलाई पर्ने असिमित आर्थिक लगायतका अन्य सबै समस्याहरु समाधान गर्न विल्कुलै संभव छैन । त्यसैले कतारमा कार्यरत मोसुबासीहरुले निम्न तरिकाले मोसुका कृयाकलापहरुमा सहभागी भई संस्थाको आर्थिक समस्यालाई न्युनिकरण गर्न, अन्य मोसुबासीहरुको आपत विपतमा साथ दिन तथा संस्थाको उद्देश्य प्राप्तिमा सहयोग गर्न सक्दछन् । 

१. संस्था र संस्थाको उद्देश्य र गतिविधिहरुको प्रचार–प्रसार
आफू संलग्न संस्था र त्यसको उद्देश्य तथा गतिविधहरुको बारेमा आफू जानकार भएर आफ्नो साथी संगतीहरुसँग छलफल गर्ने तथा त्यस बारे बुझाउने गरिएमा संस्थालाई धेरै ठूलो सहयोग पुग्दछ ।

२. साधरण सदस्य बन्ने बनाउने
हुन त मोरङ्गसुनसरीले आफ्ना जिल्लाका मात्र हैन नेपाल भित्र तथा नेपाल बाहिर आई परेका समस्याहरुमा सम्पूर्ण नेपालीलाई आफ्नो क्षमताले भ्याएसम्म मानवीय र आर्थिक सहयोग गर्दै आएको छ र निरन्तर गरी नै रहने छ । तर सदस्यको हैसियतले संस्थाप्रति बढी जिम्मेवार रहनुका साथै सहयोग प्राप्त गर्ने अधिकार समेत स्वतः बढी रहन्छ । साधरण सदस्यता विस्तार भनेको सानो तिनो तर नियमित आयको बाटो मात्र नभएर संस्थाको संगठन विस्तारको माध्यम पनि हो । संस्थाको अध्यक्ष हुने मान्छे पनि सर्व प्रथम साधरण सदस्य कै रुपमा संस्था प्रवेश गरेको हुन्छ । सदस्यहरु नै संस्थाका सम्पति हुन, संस्थारुपी घरका जग, खम्बा, छत, पर्खाल सबै हुन् ।  तसर्थ जति बढी सदस्य त्यती नै बढी आय र त्यती नै संस्थाको संगठन पनि ठूलो र मजबुत बन्दछ ।

३. अरुको आपतमा तपाई तपाईको आपतमा अरु
संस्थाको आर्थिक श्रोतको बारेमा त माथि नै चर्चा गरी हालियो तर जुन किसिमको सहयोग आउने भए पनि सहयोगको मूख्य आधार भनेका संस्थाका सदस्यहरु नै हुन् । तसर्थ सदस्यको रुपमा तपाई हामीले बुझाउने शुल्क वा अन्य कुनै पनि आर्थिक सहयोग नै आवश्क पर्दा प्रयोग गरेर संस्थाले तपाई हामी जस्तै अर्को सदस्यलाई सहयोग गर्ने गर्दछ । जसरी तपाईबाट संकलित पैसाले अर्को सदस्यको आपतबिपतमा काम आउँछ त्यसरी नै अरु सदस्यहरुबाट संकलित रकमबाट तपाईलाई जरुरत पर्दा सहयोग गर्न प्रयोग गरिन्छ । त्यसैले संस्था भनेको पारस्परिक सहयोग आदन–प्रदान गर्ने एउटा साझा ल्पेट फर्म पनि हो ।

४. संस्थाको सम्पर्कमा रही रहने
आपतको अवस्थामा मात्र नभएर सामान्य अवस्थामा समेत संस्थाको सम्पर्कमा रही रहेमा, संस्थाका हरेक गतिविधिहरुमा नभए पनि वार्षिक साधरण सभा लगायतका मूख्य मूख्य गतिविधिहरुमा समय निकालेर सरीक भई रहेमा संस्थाक गतिविधिहरु जानकार हुन, पदाधिकारहरु तथा आपूm जस्तै अन्य सदस्यहरुसँग सम्पर्क र सम्बन्ध विकास एवं विस्तार हुन जाने हुनाले आवश्यक परेको वखत सहयोग लिनदिन सजिलो हुन्छ भने निरन्तर सम्पर्कमा रही रहने सदस्य छोटो समय सम्पर्क बाहिर भए पनि संस्थाले चासो राख्ने तथा खोजी गर्ने गर्दछ ।
२०१० अप्रिल १६ को वृहत् अलखोर बनभोज तथा छैठौं साधारण सभा जसले सरोज बाँस्तोला अध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो
यसरी म आफू मोसु कतारसँग आवद्ध हुने वातावरण बनाउने मोसु पूर्व अध्यक्ष सरोज बाँस्तोला भए पनि यी उपर्युक्त तथा अन्य धेरै कारण र औचित्वहरुको विश्लेषण गरेर नै मेरो यो संस्थामा सकृयता बढेको हो । हामी जति सुकै आर्थिक रुपले सम्पन्न वा उच्च सामाजिक हैसियत राख्ने भएता पनि न त हामी एक्लैले यहाँ प्रवासमा आई पर्ने समस्याहरु समाधान गर्न सक्छौं न त आफ्नो मुलुकको हितको लागि नै एक्लै केही गर्न सक्छौं । संस्थाको आवश्यकता भनेको प्रवास तथा स्वदेशमा आपसी सहयोग आदन–प्रदान गर्नका लागि तथा संस्था मार्फत आफ्नो देश र समुदायको हितको लागि आफूले सक्ने सामुहिक सहयोग तथा योगदान गर्नका लागि पर्दछ । नेपाली समाजमा चल्तिका केही भनाईहरु नै छन् “एकता नै बल” “एक थुकी सुकी सय थुकी नदी” आदि । तसर्थ प्रवासमा आई पर्ने समस्याहरु समाधानका लागि मात्र नभएर आफ्नो मुलुक कै लागि गर्न चाहेका र गर्नै पर्ने दायित्वहरु पुरा गर्न पनि व्यक्तिगतभन्दा सामुहिक र संगठित प्रयास सहज र सफल हुने हुनाले परापुर्व कालदेखि सामाजिक संस्था एउटा व्यक्तिको सामाजिक जीवनको एक अनिवार्य अंग र आधार भई आएको छ अनन्त कालसम्म भई रहने छ ।


(मोरङसुनसरी सेवा समाजको स्मारिका मोरङसुनसरी किरण बर्ष १३, अंक ४, सन् २०१३ (बि.सं २०७०) मा प्रकाशित )

Monday, August 26, 2013

छाडेर काम सारा एक काम रोजी रहेछु यो देशमा म एउटा मनिस खोजी रहेछु ।

जिन्दगी


जती बुझ्यो उती कठीन
गहिरो सेती हो जिन्दगी
जीवन रोपेर मृत्‍युबिष फलाउने
एउटा अफाप खेती हो जिन्दगी । 

आँशु हाँसो योग बोयोग जे भने पनि
अन्तमा पर्दा खस्ने नाटक जस्तो
बस्
बस् त्यती न हो जिन्दगी ।

फर्की आउँदैछु


गाउँको लाग्छ माया

देशको लाग्छ माया

तिम्रो लाग्छ माया

सबको लाग्छ माया

नत्र यतै रेगिस्तानमा मायालु लुकाइ दिन्थे काया ।२।



बाँच्न पैसा चाहियो

अनि खाडी आइयो

सबलाई माया लाइयो

शुखदु:ख खाइयो

एकान्तमा गम्दैछु मायालु के के पाइयो के के गुमाइयो ।२।



ठुलै सपना साँचियो

खुशी भई नाँचियो

कहिले मन भाँचियो

आफ्नो पराई जाँचियो

कहिले काँही एकान्तमा मायालु रुंदै बाँचियो ।२।



दिनदिन ड्युटी धाउँदैछु

महिनाबारी पाउँदैछु

दिलोज्यान लाउँदैछु

नुनको गुन गाउँदैछु

पर्खि बस मायालु म त फर्की आउँदैछु ।२।

११ मार्च २०१३

अल हिलाल, कतार

Saturday, August 24, 2013

गैर आवासिय नेपाली संघलाई साझा नेपाली संस्था बनाउने चूनौती र अवसर


दोहामा तातिकएको जुलाईको यो चरम गर्मी सँगसँगै गैर आवासिय नेपाली संघको पाँचौं राष्ट्रिय महाधिवेशनको सरगर्मी पनि उत्कर्ष तर्पm बढी रहेको आभास हुन थालेको छ । यो सरगर्मी महाधिवेशनले बनाउने भावी नीति, कार्यक्रम तथा योजना तर्पm केन्द्रित भएको भए खुशी हुनुलाई कमसे कम हाललाई त्योभन्दा अर्को विषय चाहिने थिएन होला हामी कतार प्रवासिएका नेपालीहरुलाई । तर यो सरगर्मी नीति तथा योजनमा नभएर व्यक्तिगत प्रतिष्ठा र अहंकार लागि नेतृत्वको होडबाजीमा विशेष केन्द्रित रहेको म जस्ता जो कोही सर्व साधरणले सहजै महसुस गर्न सक्छन् । खास गरी स्थानिय नेपाली पत्र पत्रिका, सामाजिक संजालहरु मार्पmत तथा अनौपचारिक तवरबाट प्रष्ट वा सांकेतिक रुपमा यी विषयहरु प्रकट भई राखेका छन् र यिनमा संगठित भन्दा पनि व्यक्तिगत चाहाना तथा महत्वाकांक्षाहरुले काम गरेको आभास हुन्छ ।
एनआरएनएको सन्दर्भमा चर्चा गर्दा चार वर्ष अगाडिको एउटा सानो घटनाको सम्झना गर्न मन लाग्छ मलाई । कुरा २००९ को यस्तै जुन जुलाई तिरकै हुँदो हो । म २००७ को शुरुवात मै दोहा छिरेको भए पनि कसैबाट आग्रह नआएको अर्थात माध्यम नपाएको कारण म त्यसै चुपचापै बसेको थिएँ । २००९ ताका मलाई पनि एनआरएनए सदस्य बन्ने रहर जाग्यो र स्वतः स्फुर्त रुपमा हातमा बिबरण भरिएको फारम, गोजीमा १०१ कतारी रियल, २ थान फोटो सहित मनमा उमंग बोकेर हानिए जैदा पार्क तिर । तर जैदा पार्क पुगे पछि त्यहाँको दृश्यले मलाई यसरी तान्यो  र तत्क्षण मै यसरी विच्क्यायो कि करिब १० मिनेट पनि राम्ररी नबिताई म त्यो ठाउँबाट आफ्नो कोठा तर्पैm फर्किएं । जैदा पार्कमा फारम कहाँ बुझाउने भनेर यसो चारै तिर नजर दौडाउँदै गर्दा मैले के देखें भने मान्छेहरु करिव दुई–तीन बटा अलग अलग झुण्डमा विभाजित भएर भरिएका फारमहरु पल्टाउँदै यो हाम्रो यो अर्काको यो खै कस्को भनेर फारमलाई २–३ भागमा छुट्याउँदै छन् । छेउछाउमा बसेकाहरु उभिएकाहरु हो वा हैन भनेर अनि आफ्ना विचारहरु दिएर छनौट प्रक्रृयामा सघाउदै छन् । ती झुण्डहरु मध्ये न कुनै मेरो झुण्ड थियो न कुनै झुण्डमा मिसिने मेरो मनसायका लिएर नै म त्यहाँ आएको थिएँ । म त अन्य सबै कुराहरुबाट अलग मात्र जिविकोपार्जनका लागि मुग्लान पसेका सम्पूर्ण नेपालीहरुको साझा संस्थाको गौरवशाली सदस्य बन्ने उत्कण्ठ अभिलाषका साथ त्यहाँ पुगेको थिएँ  तर त्यो दृश्य देखे पछि मेरो अभिलाषा अभिष्ठ मात्र सावित भयो र त्यो साल मेरो एनआरएनए सदस्य बन्ने सपना त्यतिकै तुहिएर गयो । शुरुका केही दिन त म आपूm मात्र कत्ति न स्वाभिमानी भई टोपल्नु परेको होला भनेर आपैmदेखि अलिक दिक्क नलागेको पनि हैन तर केही दिन साताहरु बित्दै जाँदा मेरै जस्तो अनुभव र अनुभूति संगाल्ने धेरै साथीहरु भेटे पछि भने म पनि ठिकै रहेछु भन्ने लागेर आत्मा सन्तुष्टिी मिल्यो ।
प्रसंग चार साल अगाडिको भएता पनि परिस्थिती र माहोल अहिले पनि करिव करिव उस्तै रुपमा मेल खाने किसिमको देखिन्छ । कतारमा कार्यरत चार लाख नेपालीका केन्द्रिय र साझा संस्था हुने गौरव बोक्नु पर्ने एनआरएनए किन यसरी गुटबन्दीको केन्द्र भयो भनेर कसैलाई चासो र चिन्ता भयो कि भएन तर यो छुद्र प्राणीलाई चाही त्यो सवै कुरा पाच्य र स्विकार्य भएन । यस बीचमा यो संस्थालाई व्यवहार मै साझा संस्था बनाउनु पर्छ भनेर कसैले सोच्यो कि सोचेन, कसैले पहल ग¥यो कि गरेन ? अब कसैले यस बारे सोच्ने र पहल कदमी लिने काम गर्ला कि नगर्ला ? बितेका ती चार वर्षहरु मेरो मनमा यस्ता जिज्ञांसाहरु पटक पटक उब्जी रहे तर कतैबाट यस बारेमा ठोस रुपमा केही भए गरेको सुन्न देख्न भने पाइएको छैन । तर मैले र अरुहरु धेरैले प्रत्यक्ष महसुस गरेको एउटा कुरा चाँही के हो भने अधिवेशन र निर्वाचनको ताका जे जस्तो गुटबन्दी र झेली खेलहरु भएता पनि निर्वाचित भै सके पश्चात भने एनआरएनएको काम कार्यवाहीको शैली तुलनात्मक रुपमा सकारात्मक नै पाइएको छ । अबको जल्दोबल्दो सवाल भनेको एनआरएनएलाई शुरुवाती अवस्थादेखि नै बोली र व्यवहार दुबैमा कसरी सबैको साझा बनाउने भन्ने नै हो ।
 
समस्या कहाँबाट शुरु हुन्छ ?
माथि उल्लेख गरिए जस्तै अधिवेशन ताका निर्वाचनमा जस्तो सुकै घम्साघम्सी पर्ने गरेको भएता पनि त्यो बेलाको रंग र धङ्गधङ्गीलाई थाती राखेर एनआरएनए टिमले एक ढिक्का भई कार्य सम्पादन गर्ने गरेको अनुभूति गर्न सकिन्छ तथापी नेपालीहरुको उल्लेखनिय हिस्साको प्रतिनिधित्व गर्ने केही समूहहरुले एनआरएनएप्रति अपन्त्व बोध गर्न त परै जावोस् असहयोग गर्ने गरेको अनुभव पनि हामीसँग छ । उक्त समूहमा पराजित भए पछि विरोध र असयोग गर्नै पर्ने विद्यमान नेपाली मानसिकता र प्रवृतिले मात्र काम गरेको हो भनेर कसैले भन्ने हो भने त्यसो भन्नेहरुको सोचलाई पनि पूर्वाग्रही र उनीहरुको मूल्याङ्कनलाई एक तर्पिm भनेर भन्दा पनि फरक पर्दैन । सुक्ष्म विश्लेषण गर्दा एउटा गतिलो कारण यो पनि हुन सक्ला तर सम्पूर्ण र एक मात्र कारण भने यो हुँदै हैन । त्यसैले यो समस्या कहाँबाट शुरु हुन्छ त भनेर गम्भीर अनि पूर्वाग्रहरहित भएर भित्रि पत्रहरु खोतल्दै जाँदा अन्य धेरै कारणह सतहमा आउन सक्लान तर मूख्य रुपमा महाधिवेशन र चुनावबाट मात्र हैन जुन दिनदेखि यसको लागि माहौल गरम हुन्छ र अस्वस्थ्य घम्साघम्सी शुरु हुन्छ त्यही दिनदेखि असहयोग र अपन्त्व बोधको अभावको श्रृंखला शुरु हुन्छ, महाधिवेशनदेखि त यो उत्कर्षमा पुग्ने र त्यस पछिका दिनहरुमा अझ झाँगिने मात्र हो । घुमेर अर्को अधिवेशन आउँदासम्म यो छाँट्नै कठिन हुने गरी झाँगिई सकेको हुन्छ ।

कसरी बनाउन सकिन्छ त एनआरएनएलाई सबैको साझा ?
हठ त्याग
हठ त्याग नै हरेक समस्याको समाधान हो । हठको दबदबा र त्यागको अभावमा हामी गैर आवासिय नेपालीहरुका संघ संस्थाहरु मात्र हैन कि हाम्रो सिङ्गो देश नै समस्यामा भुँमरीमा फसेको कुरा हामी सामु दिनको घाम झैं छर्लङ्ग छ । समस्याको कारक पनि पद, कुर्सी मोह र मेरो गोरुको बाह्रै टक्का अर्थात हठी प्रवृति नै हो । सहमती भन्ने कति मीठो शब्द पनि कुरामा सधैंको सुगा रटाई तर व्यवहारमा पिट्टिक्कै पालना नहुनाले हामी नेपालीहरुका लागि अत्यन्तै झर्को लाग्दो कर्कश आवाज भएको छ । केही पाउन पक्कै केही त्याग गर्नै पर्ने हुन्छ । त्यसैले यी घटनाहरुबाट पाठ सिकेर हामीले आ–आफ्नो हठ त्यागेर व्यवहारिक र लचिलो बन्नै पर्छ । हठ त्याग बिना सहमतीको कल्पना गर्नै सकिदैन ।

सह–अस्तित्वको सिद्धान्तको पालना
जबसम्म हामी आपूm मात्र ठीक, जहाँ पनि आपूm र आफ्नो समूहको उपस्थिती हुनै पर्ने, आपूm र आफ्नो समूहको उपस्थिती विनाको संघ संस्था आदिको परिकल्पना गर्दैनौ विवाद त्यहीबाट जन्मिन्छ, हुर्किन्छ र हटाउन घटाउन नसक्ने गरी झ्याँगिन्छ । हामीले अर्काबाट सम्मान पाउन र अरुबाट हाम्रो अस्तित्व र उपिस्थिती स्विकार गराउन पहिले आपूmले अरुको अस्तित्व र उपस्थिती स्विकार गर्नु अनिवार्य छ । पारस्परिक सम्मान र सह अस्तित्वको सिद्धान्त स्विकार्नु सहमतीको पहिलो तर अनिवार्य शर्त हो ।

टोपी, जुत्ता र कोट बाहिरै खोलेर मात्र एनआरएनए रुपी घरमा प्रवेश गर्ने
प्रायः हामी सबैको कुनै न कुनै बैचारिक लाईन होला, विभिन्न खाले संघ संस्थामा संलग्नता, आबद्धता होला, आपसी प्रतिस्पर्धा पनि होलान अनि ती प्रतिस्पर्धा सँगसँगै साना ठूला बैमनश्यताहरु पनि जन्मिएका होलान् । तर एनआरएनएको फोरम भनेको ती सबै तिक्तता पोख्ने, बैमनस्यताको बदला लिने ठाउँ हैन । यसर्थ यी सबै कुराहरुलाई तिक्तताहरुलाई एक ठाउँमा थन्क्याएर यस भित्र हामी मात्र नेपाली हौं भन्ने भावन लिएर अर्थात यस किसिमको विचार, प्रतिस्पर्धा, बैमनश्यता रुपी टोपी, जुत्ता र कोट बाहिरै खोलेर एनआरएनए नामक हाम्रो साझा घरमा प्रवेश ग¥यौं अनि यो घरबाट निस्के पछि मात्र यी कुराहरु पुनः लगाउने ग¥यौं भने मात्र हामीमा विवादरहितता, निश्पक्षता छ भन्ने भान सबैमा पर्न जान्छ र त्यसले आपसी विश्वास बढाउने र अविश्वासको दुरी घटाउने अनि हामीसँगै संस्थाको छवि पनि उजिल्याउने काम गर्छ ।

हाम्रो मान्छे हैन राम्रो मान्छेलाई बढावा
एनआरएनमा अगुवाई गर्न अग्रसर हुनेहरुको हामी आपूmसँगको व्यक्तिगत तथा संस्थागत संलग्नता, सम्बन्ध एवं सामिप्यतालाई एक छिनलाई विर्सेर एनआरएनएको जिम्मेवारीमा रहँदा आफ्नो गरेका र त्यस बाहेक पनि विगत र वर्तमानमा अन्य सामाजिक संघ संस्थाा रहेर गरेका कामहरु र ती कामहरुकोे परिणाम, कार्य सम्पादन शैली मूल्याङ्कन, समुदायका लागि दिएका योगदानहरु र उनीहरुमा भएको संभावनाहरुको स्वतन्त्र र वस्तुगत विश्लेषण गरेर उनिहरुलाई अगाडि बढाउने कि पछाडि धकेल्ने निर्णय गर्नु जरुरी छ । जबसम्म हामी “हाम्रो मान्छे हैन राम्रो मान्छे” भन्ने आधारमा नभई  “राम्रो मान्छे हैन हाम्रो मान्छे”े भन्ने दिर्घ रोगबाट ग्रसित भई रहन्छौं तबसम्म हामीले एनआरएनए मात्र हैन कि कुनै पनि सामाजिक संस्थाबाट अपेक्षित र सकारात्मक परिणाम आउने कुरा गर्नु कुरामा मात्र सीमित रहनु हो ।

निर्विरोध हुने वातावरण श्रृजना
हुन त निर्वाचन भनेको प्रजातन्त्रिक पद्धतिको सर्वमान्य र अनिवार्य प्रकृया र अभ्यास दुवै हो तर सधैं र सवै परिस्थितीमा यो प्रकृया मात्रै ठीक हुन्छ र यो अवलम्बन गर्नै पर्छ भन्ने अनिवार्यता पनि हुदैन । कसैको हार वा कसैको जित हैन सबैको जित ९ध्ष्ल ध्ष्ल० को स्थिति सृजना गर्न सक्नु एउटा कुशल नेतृत्वको क्षमताको कसी पनि हो । भविष्यमा पदाधिकारीहरु बीच सौहाद्रताको विकास गर्न तथा काम गर्ने सुमधुर वातावरण श्रृजना गर्नको लागि सर्वसम्मती र निर्विरोध निर्वाचन सबैको जित ९ध्ष्ल ध्ष्ल० को स्थिति सृजना गर्ने एउटा महत्वपूर्ण कडी हुन सक्छ ।
हामी बीच हाम्रो घर भित्र विवाद होला, घर झगडा होला, लेनदेन होला तर अहिले हामी प्रवासमा छौं, परदेशमा छौं । अन्तराष्ट्रिय समुदायले देख्दा हामी मात्रै नेपाली हौं र एक नेपालीको सुकर्म वा कुकर्मसँग सिङ्गो नेपाली समुदायलाई जोडेर हेर्छन र चर्चा गर्छन । तसर्थ हामीलाई के बोल्न मन लाग्छ बोल्ने वा के गर्न मन लाग्छ गर्नेभन्दा पनि के बोल्दा वा गर्दा अरु समुदायका मानिसहरुबाट आलोचना खेप्नु पर्दैन के बोल्दा वा गर्दा हामी अरु समुदायका मानिसहरुको नजरमा गिर्दैनौं,  के बोल्दा वा गर्दा हामीले उनीहरुसँग हिनताबोध महसुस गर्नु पर्ने स्थिति पैदा हुदैन त्यो काम कुरा गर्नु वा बोल्नु पर्छ भन्ने मलाई लाग्छ । हामी बीच जे जस्ता विवाद तथा मत भिन्नताहरु भएता पनि अरुहरुको नजरमा त्यो देखिनु हुदैन भलै ती विषयहरुलाई आन्तरिक रुपमा स्वस्थ्य वहसको विषय बनाउनु तथा छलफल चलाउनु पर्छ । अरु सामु कस्ता विषयलाई अनि कस्ता व्यवहारहरुलाई कसरी प्रर्दशित गर्ने कस्ता व्यवहारहरु प्रदर्शित नगर्ने सोच्नु र त्यसै अनुसार चल्नु जरुरी छ । यो कुरा सबैभन्दा बढी एनआरएनएको सन्दर्भमा लागू हुन्छ किन कि यसले अन्तराष्ट्रिय समुदाय सामु नेपाली समुदायको मूल संस्थाको रुपमा प्रतिनिधित्व गर्ने गर्दछ । एनआरएनएलाई प्रत्येक नेपालीको मनैबाट स्विकार हुने गरी साझा संस्थाको रुपमा विकास गर्न पनि शुरुवाती अवस्थादेखि अर्थात महाधिवेशनदेखि नै स्वस्थ र सौहाद्रपूर्ण वातावरण निर्माण भयो भने सम्पूर्ण कार्यकाल सोही वातावरणमा बित्ने र संस्था उद्देश्यकेन्द्रित भएर मतैक्यताका साथ काम गर्दा पक्कै परिणाम पनि सार्थक आउँने हुन्छ । यो वातावरण श्रृजना गर्नका लागि परम्परागत तौर तरिका, कार्यशैली र सोचहरुबाट माथि उठेर वर्तमान एनआरएनए कार्य समिति, बौद्धिक वर्ग, समाजसेवी, व्यवसायी र सम्मूर्ण वैचारिक संघ सस्थाहरु तथा नेपाली समुदायका अगुवाहरुले अहं भूमिका खेल्नु पर्ने हुन्छ । यो समय भनेको गैर आवासिय नेपाली संघलाई भावना र व्यवहारमा दुवैमा सवैको साझा बनाउने अवसर र चूनौती बोकेको उपयुक्त समय हो । अब हेर्नु छ कतार स्थित नेपाली समाजका अगुवाहरुले यो चूनौतीलाई कत्तिको सहज ढंगले स्विकार गर्नु हुन्छ र यो स्वर्णिम अवसरको कत्तिको उपयोग गर्नु हुन्छ ।

गोकुल थापा
परिषद सदस्य
गैर आवासिय नेपाली संघ कतार
(११ जुलाई २०१३ को कान्तिपुर प्रवास साप्ताहिक कतारमा प्रकाशित)
http://www.ekantipur.com/qatar/news/news-detail.php?news_id=205488